ON AIR

ताजा खबर

आगामी बजेटका लागि सांसदहरुले के-के दिए सुझाब ?

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरुले जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । उनीहरुले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वास्तविकतामा आधारित बजेट जरुरी रहेको बताए ।

बैठकमा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा सांसदहरुले बजेटको प्रभावकारी कार्यान्वयन गर्ने तथा व्यावहारिक रुपमा आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्न जोड दिनुपर्ने बताएका छन् ।

आफ्नो धारणा राख्ने अधिकांश सांसदले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार बनाउनुपर्ने समेत बताए । समृद्धिका लागि आत्मबल तयार पार्ने तवरले बजेट आउनुपर्नेमा जोड दिँदै सांसदले वर्तमान सरकारप्रति जनताको असाधारण विश्वास रहेको विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अगाडि सारेका सन्दर्भमा पर्यटन, कृषि, ऊर्जा, जडीबुटी र जंगलमा विशेष लगानी गर्नुपर्छ भन्दै उनीहरुले वास्तविकतामा आधारित बजेट जरुरी रहेको बताए ।

सत्तापक्षका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन जनाएका छन् भने प्रतिपक्षी दलका सांसदले वर्तमान सरकारले दिशाहीन र नेपाली जनताले खासै नयाँपन पाउनेखालको प्रस्ताव नआएको गुनासो गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्माले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्तिको निरुत्साहन गर्नुपर्नेमा जोड दिए । “नेताले भाषण मात्रै गर्ने, किसानले खेती नगर्ने, कर्मचारीले काम नगर्ने प्रवृत्तिविरुद्ध जागृति अभियान चलाउनुपर्छ । बजेट पूर्णरुपमा कार्यान्वयन गर्नुपर्छ ।” शर्माले भने ।

माओवादी केन्द्रका कमला रोकाले आधा धर्ती र आधा आकाश ढाकेका महिलाको हितमा बजेट आउनुपर्नेमा जोड दिएकी छिन् ।

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिए ।

“ आर्थिक समृद्धिको नाराको व्यावहारिक कार्यान्वयन गर्ने खालको बजेट जरुरी छ । संसद्मा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रभावकारी र व्यावहारिक विषय समेटिएकाले त्यसलाई मूर्त रुप दिने बजेट जरुरी छ ।” पौडेलले भने

एमालेकै भानुभक्त ढकालले समाजवादी अर्थव्यवस्थाको आधार तयार पार्नेखालको बजेट ल्याउनुपर्नेमा बताएका छन्।

नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतका सरकारलाई आरोप लगाउने सरकारले हचुवाका भरमा बजेटका सिद्धान्त प्रस्तुत गरेको दोषारोपण गरे ।

कांग्रेसकै दिलेन्द्रप्रसाद बडूले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । कांग्रेसका प्रदीप गिरीले रोजगार र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिए ।