ON AIR

ताजा खबर

यस्तो बन्दैछ बजेट, खाकालाई अन्तिम रूप दिइँदै

संघीय बजेट कस्तो बन्छ भन्ने चासोका बीचमा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेसम्म नबनेको सबैले अनुभूत गर्न पाउने नमुना बजेट निर्माण गर्न लागेका छन् । सरकारको नीति तथा कार्यक्रम आएपछि तीव्रता पाएको बजेट निर्माण प्रक्रियाले घनिभूतका छलफल गर्दै अघि बढेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले जानकारी दिए ।

अहिलेसम्म १२ खर्ब ४ अर्बकै हाराहारीमा संघीय बजेट निर्माण हुँदैछ’, उनले भने–‘यति नै बजेटको ढाँचा १२÷१३ गतेसम्म तयार हुनेछ । अहिलेसम्म बजेटमा के–के कुरालाई परिमार्जन गर्ने तथा समावेश गर्ने भन्ने विषयमा कुनै नीतिगत निर्णय हुन नसकेको उनले बताए ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.रामशरण खरेलले सरकारको नीति तथा कार्यक्रमपछि बजेट निर्माण प्रक्रियाले तीव्रता पाए पनि अहिलेसम्म सम्बन्धित मन्त्रालय तथा सरोकारवालासँग छलफल गरेर सल्लाह सुझाव लिने काम भइरहेको बताए । अहिले आम्दानी र खर्च स्रोतका बारेमा यति नै हुन्छ भनेर मन्त्रालय पुग्न नसकेको उनी बताउँछन् । यति हो कि बजेट विशेष बन्छ, करका प्रणाली प्रगतिशील हुन्छ,’ उनले भने ।

बजेट निर्माणमा जुटेका संयन्त्रले त्यस्तो बताए पनि बाहिरी विज्ञाता हासिल गरेका विज्ञहरूले भने बजेट १५ खर्बभन्दा माथि जाने र सरकार कसिए १२ खर्ब राजस्व उठाउने सक्ने बताएका छन् । अर्थविद् डा.चन्द्रमणि अधिकारीले बाहिरी अर्थतन्त्रलाई समेटेर सबैलाई करको दायरामा ल्याउन सके १२ खर्ब राजस्व उठाउन सक्ने राज्यको क्षमता रहेको आफूले देखेको बताए । तर, यसका लागि सरकारले दरिलो खुट्टा टेक्नु पर्छ,’ कसैको दबाबमा पर्नु हुँदैन । स्थायी सरकार भएकाले अहिलेको सरकारले चाहेमा जे पनि गर्न सक्ने उनले बताए ।