ON AIR

ताजा खबर

दरबार हत्याकाण्डको १६ वर्ष: एउटा इच्छा पूरा, अझै दुई बाँकी

ईश्वरराज ढकाल, काठमाडौं,
दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ। भनिन्छ– दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ। तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन। दर्जनौंपटक सरकार परिवर्तन भयो तर सत्यतथ्य पत्ता लगाउने आँट कुनै सरकारले गरेन। नेपाली जनताले सधैं भन्ने गरेका छन्– ‘राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस्।’ त्यति मात्रै होइन नारायणहिटी संग्रहालय घुम्न आउने अधिकांश दर्शकले लेख्ने गरेका छन्– ‘दरबार हत्याकाण्डको छानविन होस्।’

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाण्डलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन संग्रहालय निर्माण सम्पन्न गरेको छ। बल्ल एउटा मात्र चाहना पूरा भएको छ। दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन हेर्ने।

अझै दुई वटा इच्छा पूरा हुन सकेको छैन। त्यो हो– श्रीपेच र हत्या गरिएका वीरेन्द्र परिवारको घर श्रीसदन हेर्ने। ‘संग्रहालय प्रशासनले दरबार हत्याकाण्ड भएको १६ वर्षपछि त्रिभुवन सदन निर्माण गरेको छ।’ –संग्रहालय प्रमुख रोहित ढुंगानाले नेपाल समाचारपत्रसँग भन्नुभयो।

त्रिभुवन सदनमा ऐश्वर्यको गोली हानी हत्या भएको थियो र विलियार्ड बैठकमा राजा वीरेन्द्र, निराजन, श्रुतिलगायत ८ जनाको हत्या भएको थियो। ‘संग्रहालयले त्रिभुवन सदनको विलियार्ड बैठकमा विलियार्ड राखिसकेको छ। अन्य सामग्री राख्ने अन्तिम तयारी गरेका छौं।’ –प्रमुख ढुंगानाले भन्नुभयो।

अहिले त्रिभुवन सदन हेर्न आउने अधिकांशले भन्ने गरेका छन्– ‘ए हत्या भएको स्थान यस्तो पो रहेछ।’ अहिलेसम्म त्रिभुवन सदनमा रहेका २ सेट हरियो र हिमाल आकारको ३ सेट सोफा, वारदराज सिराहा बैठक कक्षमा भेटिएको थियो। टेबल नानीगन्जमा भेटिएको थियो।

विलियार्ड हलको पूर्वपट्टि रहेको राजा त्रिभुवनको सामूहिक तस्वीर जाजरकोट कक्षमा भेटिएको थियो।

२०५८ साल जेठ १९ गते बिलियार्ड बैठकमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको त्यो हत्याकाण्डमा प्रयोग भएका केही सामग्री छैनन्। त्रिभुवन सदनको बिलियार्ड हलमा दरबार हत्याकाण्ड हँुदा वीरेन्द्र, ऐश्वर्य, निराजन, श्रुति, शान्ति, शारदा र जयन्तीलाई गोली लागेको थियो।

दर्शकको अवलोकनका लागि खुला गर्ने तयारी गरिएको स्वर्गीय राजा वीरेन्द्रको दरबार श्री सदन अझै खुल्न सकेको छैन।

‘नारायणहिटी दरबार संग्रहालयले वैकल्पिक बाटो नभएका कारण समस्या परेको छ। बाटो नभइकन खोल्न सक्ने अवस्था नै छैन’ –संग्रहालय प्रमुख ढुंगानाले भन्नुभयो।

सार्वसाधारणका लागि खुला गरिएको नारायणहिटी संग्रहालयमा भ्रमण गर्न आउने सबै दर्शकले आगन्तुक पुस्तिकामा लेख्ने गरेका छन्– ‘२०५८ साल जेठ १९ गते हत्या भएका राजा वीरेन्द्र र उहाँको परिवारको निजी निवास श्री सदन हेर्न तीव्र इच्छा रहेको छ।’ तर सरकारले वैकल्पिक बाटो खोल्न रकम निकासा नगरिदिँदा समस्या परेको छ।

– श्रीसदन खुल्न सकेन
– संग्रहालय हेर्ने भन्छन्– ‘ए हत्या भएको स्थान यस्तो पो रहेछ।’

 

संग्रहालयमा बन्द रहेको बम्बैचोक अगाडिको पर्खालनजिकैको भाग भत्काएर वैकल्पिक बाटो नबनेसम्म श्रीसदन खोल्न सक्ने अवस्था छैन। २०७२ सालको भूकम्पले सरला बस्दै गरेको बम्बैचोकको भवन पूर्णरूपमा भत्किएको छ।

तत्कालीन सरकारले राजा वीरेन्द्रको निजी निवासका रूपमा रहेको श्रीसदनलाई तत्काल खुला गरी सर्वसाधारणलाई अवलोकन गराउने उद्देश्यले आव ०६६–०६७ मा करिब २० लाख बजेट विनियोजन गरेको थियो। बजेट विनियोजन भएलगत्तै भवन खोलेर सीसीटीभीको समेत जडान गरिएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले सर्वसाधारणका लागि श्रीपेच र श्रीसदन खुला गर्ने तयारी गरेको बताउँदै आउनुभएको छ। सरकारले एक महिनाभित्र नारायणहिटी संग्रहालयको गुरुयोजना बनाउने र ३ महिनाभित्र श्रीपेच खोल्ने तयारी गरेको छ।

पूर्वराजा वीरेन्द्रको प्राकृतिक घर श्रीसदनमा रहेकोे कोठामा काठको दराजमा सैनिक पोसाक र बुट थन्किएको छ। बाथरुममा उहाँले प्रयोग गर्ने सामग्री मिलाइएको छ। स्वर्गीय रानी ऐश्वर्याको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भर्याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको पेन्टिङ राखिएको छ। निराजनको कोठामा रुटिन राखिएको छ। वीरेन्द्र, ऐश्वर्या, श्रुति र निराजन सबैको बाथरुम, सिंगार कोठा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ।

गजलमा विशेष चाख राख्ने ऐश्वर्याको कोठामा अधिकांश हिन्दी र उर्दू भाषाको क्यासेट देखिन्छन्। उहाँका गहना राख्ने सेफ रहेको कोठामा खालि सेफ छ गहना छैनन्। व्यायाम कक्षमा निराजनको जिमका सामान छन्। प्रकृतिप्रेमी राजा वीरेन्द्रले आफू बस्ने भवनलाई कहिल्यै रङरोगन नगरेकाले सिमेन्ट प्लास्टर मात्र गरिएको सो दरबार कलात्मक छ।

प्रवेशद्वारमा ठूलो घण्ट राखिएको छ। तत्कालीन राजा महेन्द्रले छोरा वीरेन्द्रको निजी प्रयोगका लागि निर्माण गरेको श्रीसदन वीरेन्द्रलाई युवराजधिराज घोषणा गरिएको दिन सारिएको थियो। २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए।

२७ लाखले गरे अवलोकन

संग्रहालयले जनाएअनुसार संग्रहालय खुलेदेखि हालसम्म स्वदेशी तथा विदेशी गरी २७ लाख ६५ हजार ६ सय ५१ जनाले अवलोकन गरिरहेका छन्। पछिल्लो तथ्यांकअनुसार वर्षमा सबैभन्दा बढी सर्वसाधारण र त्यसपछि विद्यार्थीले अवलोकन गरेका छन्। संग्रहालय प्रमुख ढुंगानाले हालसम्म १३ लाख ८५ हजार ६ सय ३९ जना सर्वसाधारण र ११ लाख ५६ हजार ४० जना नेपाली विद्यार्थीले अवलोकन गरेको बताउनुभयो। उहाँका अनुसार सार्क र चीनका १ लाख ५७ हजार ६ सय ३८ अन्य मुलुकका ६६ हजार ३ सय ३४ ले अवलोकन गरिसकेका छन्।

संग्रहालय अवलोकन गर्न विद्यार्थीले २०, सर्वसाधारणले सय, सार्क र चिनियाँ नागरिकले २ सय ५० र अन्य मुलुकका नागरिकले टिकटबापत ५ सय रुपियाँ तिर्नुपर्ने व्यवस्था छ। संग्रहालयले हालसम्म पार्किङसमेत गरी २३ करोड ५७ लाख ६३ हजार १ सय २० रुपियाँ राजस्व संकलन भएको छ। ०६५ फागुन १६ देखि उक्त रकम संकलन भएको हो।