ON AIRNational Song

ताजा खबर

नुवाकोट गोल्डकप : थ्रीस्टारबाट मदन भण्डारी पराजित

स्थानीय बट्टार क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको ‘प्रथम विशाल सिमेन्ट नुवाकोट गोल्ड कप’ प्रतियोगितामा आज थ्रीस्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । 


शुरुदेखि नै स्थ्रीस्टारले मदन भण्डारीलाई दवावमा राख्दै पहिलो हाफमै २–० ले अग्रता लिएको थियो । पहिलो हाफको १२ मिनेटमा थ्रीस्टारका अनन्त तामाङले गोल गरी टोलीलाई अग्रता दिएका थिए । अठ्ठाइस मिनेटमा अजे मार्टिनले थ्रीस्टारलाई २–०ले अग्रता दिएका थिए । सतहत्तर मिनेटमा मदन भण्डारीका सोर्जन राईले गोल फर्काउँदै थ्रीस्टारसँगको गोलअन्तर कम गराउन सफल भए । दोस्रो हाफमा मैदानमा मदन भण्डारीका खेलाडी हावी भए पनि गोल फर्काउन २२ मिनेट लाग्यो । 


एकासीऔँ मिनेटमा थ्रीस्टारले पाएको फ्रि किकलाई अनन्त तामाङले गोलमा परिणत गर्न सफल भएपछि थ्री स्टार ३–१ अगाडि भएको थियो । सहकर्मीको फ्रि किकमा किपरको हातबाट चिप्लिएको बल तामाङले पोष्टमा छिराउन सफल भएका थिए । 


प्रतियोगितामा ९०+३ मिनेटको अतिरिक्त समयमा मदन भण्डारीले पाएको पेनाल्टीलाई म्यावेल एलोनले गोलमा परिणत गरेपछि खेल ३–२ मा आएको थियो । दर्शकले मदन भण्डारीलाई समर्थन गरे पनि मदन भण्डारी पराजित भएको छ । पहिलो हाफमा स्थ्रीस्टार हावी भएको थियो भने दोस्रो हाफमा मदन भण्डारी हावी भएको थियो । 


जिल्ला खेलकुद विकास समिति र नुवाकोट एन्फाको आयोजनामा सञ्चालन भएको प्रतियोगिता जिल्लाको अहिलेसम्मको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो । प्रतियोगितामा विजेताले रु ५ लाख र उपविजेताले रु ३ लाख पाउने छन् । दश टोली सहभागी रहेको प्रतियोगितामा चितवन ११, काठमाडाँै ११, फ्रेण्ड्स क्लब, एपिएफ, मदन भण्डारी घर फर्किसकेका छन् । मङ्गलबार नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच खेल हुनेछ ।