ON AIR

ताजा खबर

माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय

जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् । 

बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेकाले माटोका भाँडाको बिक्रीबाट पनि कमाई राम्रो भइरहेको बताएका हुन् । 

बजारको भन्दा पनि भाँडा बनाउन उपयुक्त माटोको अभावले कुमाल आफ्नो परम्परागत पेशाबाट पलायन भएको विदुर नगरपालिका–५, हसनटारका मीनकुमार कुमालले बताउनुभयो । 

“भाँडा बनाउन आवश्यक माटो पाउन गाह्रो छ । जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन”, उहाँले भन्नुभयो, “यहाँ वरपरमा बट्टारको कभर्ड हल क्षेत्र र च्वाडी स्कूलको जग्गामा मात्र भाँडा बनाउन उपयुक्त माटो पाइन्छ । अहिले त्यहाँ माटो झिक्न दिँदैनन् । माटै नभएपछि भाँडा कसरी बनाउने ?” 

भाँडा बनाउनका लागि यसपटक वडाध्यक्षको रोहवरमा कभर्ड हल क्षेत्रबाट माटो ल्याएर भाँडा बनाइरहेको उहाँले बताउनुभयो । उहाँले वर्षभरि बनाएका भाँडाहरु सबै बिक्री हुने गरेको छ । “सामान उत्पादन गर्न सक्नुपर्छ । बजारको कुनै समस्या छैन । घरैबाट बिक्री हुन्छ । पहिले जस्तो भाँडा बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन”, मीनकुमारले भन्नुभयो, “महिनाको ३०÷३५ हजार रुपैयाँ कमाउन गाह्रो हुन्न ।” 

माटो पाउन मुस्किल हुन थालेपछि भाँडा बनाउनै छाडेका जीतबहादुर कुमालले स्थानीय सरकारले कुमाललाई सहज रुपमा माटोको व्यवस्था गरिदिनुपर्ने बताउनुभयो । “हामी किन्न परेपनि किन्छौँ । तर माटो जहाँ पाइन्छ त्यहाँबाट सहज रुपमा झिक्न दिने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो । भाँडा बनाउनका लागि लिसाइलो हल्का कालो माटो आवश्यक पर्छ । त्यो माटोलाई मुछेर पाँच÷सात दिन कुहाएपछि झनै लिसाइलो हुने र त्यस्तो माटोबाट भाँडाहरु राम्रो र बलियो बन्ने जीतबहादुर कुमालले बताउनुभयो । 

“माटो त प्युरी जस्तो हुनुपर्छ । यसले भाँडाको तौल पनि कम हुन्छ”, उहाँले भन्नुभयो, “माटोमा टाउकाको कपालको एक त्यान्द्रोसमेत पर्न हुन्न । कपालको त्यान्द्रो प¥यो भने बनिसकेको भाँडो प्वाल पर्ने भएकाले भाँडा बनाउने माटो बनाउँदा नै धेरै ख्याल गर्नुपर्छ ।” 

बजारको माग अनुसारका सामग्री बनाउनेको कमाई राम्रो छ । पहिलेको जस्तो हण्डा, घ्याम्पोहरुको भने अहिले माग कम भएको छ । तर गमला, गाग्रो, सुराही, पाला, दियो, फूलदानी, एस्ट्रे, फिल्टर, गिलासहरुको माग धेरै नै भएको मीनकुमार कुमालले बताउनुभयो । 

“अहिलेको माग अनुसारका नयाँ नयाँ डिजाइनका भाँडा बनाउन सके आम्दानी राम्रो हुन्छ । अन्यत्र मजदुरी गरेर कमाएको भन्दा पुख्र्यौली पेशाबाटै कमाई राम्रो हुन्छ”, तीन दशकदेखि भाडा बनाउँदै आउनुभएका उहाँले भन्नुभयो, “नयाँ डिजाइनका भाँडा बनाउन तालीममा सहभागी भइरहेको छु ।”

विदुर नपा–५, हसनटारका कुमालको पेशालाई निरन्तरता दिन र आधुनिक आवश्यकता अनुसारका भाँडाहरु बनाएर आत्मनिर्भर बनाउन उनीहरु घरेलु विकास शाखाको गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमको सहयोग र सामुदायिक तथा व्यावसायिक प्रवद्र्धन समाजको सहजीकरणमा माटोका आधुनिक भाँडा बनाउने दुईमहिने तालीममा सहभागी भइरहेका छन् । तालीममा अहिले महिला र पुरुष गरी २९ जनाको सहभागिता रहेको छ । बजारको माग अनुसारको अहिले आवश्यक माटाको भाँडाहरु बनाउन तालीममा सहभागी भएको जीतबहादुरले बताउनुभयो । 

कुमाल समुदायको परम्परागत पेशालाई अत्याधुनिक प्रविधिको सहयोगमा उत्पादनमा नयाँपन दिनु अहिलेको आवश्यकता भएको प्रशिक्षक नारायणभक्त सिजापतीले बताउनुभयो । “विदेशी माटाका चिल्ला भाँडाहरुले नेपालमा राम्रै बजार लिइरहेको छ । त्यसलाई पनि हामी यहीँ उत्पादन गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “यो आधारभूत तालीम हो । यसपछि रुचि भएकालाई एडभान्स तालीम दिने हो भने चिल्ला र बलिया भाँडाहरु उत्पादन गर्न सकिन्छ ।” 

बजारमा सेरामिक्सका गिलास, प्लेट लगायतका भाँडाहरु पाइन्छन् । सेरामिक्स भनेकै माटाको भाडा हो । यसको कच्चापदार्थ विदेशबाट ल्याउनुपर्ने भएकाले लगानी केही बढी लाग्ने गरेपनि रोजगारी र आम्दानी पनि बढी हुने प्रशिक्षक सिजापतीले बताउनुभयो । 

अहिले यहाँका कुमालहरुले बुट्टेदार गमला, सुराही, फिल्टर लगायतका सामग्री निर्माण गर्न सिकिरहेका छन् । बजारको माग अनुसारको भाँडा बनाउन पोख्त भएका उनीहरुको पुख्र्यौली सीपको संरक्षणका साथै आर्थिक रुपमा सबल बनाउने सामुदायिक तथा व्यावसायिक प्रवद्र्धन समाजका कार्यक्रम संयोजक ध्रुव पुडासैनीले बताउनुभयो । 

अहिले उनीहरुलाई परम्परागतरुपमा हातले चलाउने चक्रको सट्टामा मोटरबाट घुमाउने चक्रमा काम गर्न सिकाइँदैछ । मोटरबाट घुम्ने चक्रबाट काम गर्न सहज र छिटो हुने भएकाले यो प्रविधिमा अभ्यस्त गराएको र प्रविधिमा पनि सहयोग गर्ने कार्यक्रम रहेको पुडासैनीले बताउनुभयो । जिल्लाको विदुर नगरपालिका–५ को पिपलटार, हसनटार र वडा नं ६ को इनारपाटी क्षेत्रमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ ।