ON AIR

ताजा खबर

राष्ट्रिय महिला आयोगद्वारा महिला आत्मसुरक्षा तालिम सम्पन्न

नेपालमा महिला माथिको बढ्दो हिंसा न्युनिकरण गर्ने उद्देश्यले महिला आत्मरक्षा तालिम एवं सचेतना अभियान संचालन गरिएको छ । महिला स्वयंले बल, बुद्धि र विवेक लगाएर हिंसाबाट जोगिने ज्ञान र व्यवहारिक सीप सिकाउन महिला आत्मरक्षा तालिम आयोजना गरिएको हो ।

महिलालाई शैद्धान्तिक र मार्शल आर्टका व्यवहारिक र सरल विधिको प्रयोगबाट आत्मसुरक्षा कला सिकाउने तालिमको उद्देश्य रहेको आयोजकले बताए । राष्ट्रिय महिला आयोग र केयर नेपालको आयोजनामा महिला आत्मसुरक्षा तालिम सम्पन्न भएको हो । महिला आयोगको भद्रकालीस्थित केन्द्रिय कार्यालयमा सम्पन्न तालिममा ३० जना सहभागी थिए । नेपालका राष्ट्रि दैनिक पत्रिकामा नेपाली र अंग्रीजी भाषामा आफ्ना अनुसन्धानात्मक एवं सचेतनामूलक लेखहरु प्रकाशित गर्दै र मार्शल आर्टका सीप सिकाएर देशभर अभियानका रुपमा महिला आत्मरक्षा तालिम दिँदै आएका गिरी बहादुर सुनार प्रमुख प्रशिक्षक थिए । तालिममा महिला सुरक्षा अभियानमा सम्बद्ध महिलाहरु एवं आयोगको हेल्प लाइन (खबर गरौँ ११४५ शाखा) मा कार्यरत महिलाहरु सहभागी थिए । महिला आयोग, केयर नेपाल र महिला अधिकार एवं सुरक्षा क्षेत्रमा कृयाशिल अभियान्ताहरु समेत तालिममा सहभागी थिए ।

राष्ट्रिय महिला आयोगका नवनियुक्त सचिव अनिलकुमार ठाकुरले महिला आत्मसुरक्षा तालिमलाई अभियानका रुपमा संघीय संरचनाकै ढाँचामा प्रदेश र जिल्ला तहमा पुर्याउने बताउनु भयो । प्रमुख प्रशिक्षक सुनारले बलात्कारको सिकार हुनबाट कसरी जोगिने ? प्रतिकार गर्ने उपाय के के छन् ? दैनिक प्रयोगमा आउने मोवाइल, चाबी, पछ्यौरा, पत्रिका जस्ता सामान्य उपयोगका वस्तु कसरी अप्ठेरो अवस्थामा हतियार बन्न सक्छन् ? लगायतका विषयलाई समेटेर महिला आत्मरक्षा तालिमको पाठ्यक्रम नै बनाउनु भएको छ । त्यसैलाई पछ्याउँदै प्रशिक्षण दिने गरेको सुनारले बताउनु भयो । महिलाहरुलाई हिंसाबाट जोगिन मानसिक र शारीरिक रूपमा कसरी तयार पार्न सकिन्छ भन्ने विषय तालिममा समेटिएको उनले बताउनु भयो । आयोग अन्तर्गतको सम्बोधन परियोजनाकी प्रबन्धक पलिता थापाले महिला आत्मसुरक्षालाई विद्यालय शिक्षा देखि घर र कार्यालयसम्म प्रभावकारी अभियानका रुपमा विस्तारित गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।

बलात्कार वा अन्य यौनजन्य हिंसाबाट जोगिन अपनाउन सकिने सावधानी, शारीरिक बलको प्रयोग, मार्शल आर्टका व्यवहारिक बिधि लगायतका प्रयोगात्मक पक्षमा समेत तालिमका सहभागीलाई प्रशिक्षित गरिएको थियो । केयर नेपालकी प्रतिनिधि कमलतारा बज्राचार्यले तालिमबाट महिलाहरुलाई मानसिक र शारीरिक रुपमा कसरी सुरक्षित हुने भन्ने ज्ञान हासिल भएको बताउनु भयो ।