ON AIR

ताजा खबर

पल र आँचल : गसिपमा चम्किने, फिल्ममा बेखबर!

काठमाडौं– अधिकांश फिल्ममा एकसाथ काम गरेका पल शाह र आँचल शर्मा मंगलबार ललितपुरमा सँगै देखिए। सन्दर्भ थियो, ‘स्नेही काख’ नामक संस्थाका लागि सहयोग हस्तान्तरण कार्यक्रम।

फिल्मी पर्दामा रोमान्टिक भावमा प्रस्तुत हुने यो जोडीबीच वास्तविक जीवनमा कस्तो सम्बन्ध छ त? आम दर्शकमा रहे जस्तै प्रश्न पंक्तिकारमा पनि थियो। 

संस्थाको परिसरमा जब उनीहरुको भेट भयो, दुईबीचको औपचारिकता मुस्कान साटासाटमै सकियो। 

सडकमा अलपत्र परेका मानसिक रोगीहरुको उद्धारमा ८ वर्षदेखि क्रियाशील ‘स्नेही काख’मा आँचल केही महिनाअघि आफ्नो जन्मदिनमा पुगेकी थिइन्। त्यो समयदेखि उनी त्यहाँ आश्रय लिइरहेकाहरुका लागि वरदान नै बनिन्। 

संस्थाका लागि उनले व्यक्तिगत खर्च त गरेकी थिइनन्, तर उनको प्रचारपछि संस्थाले धेरै सहयोगी हातहरु पायो। त्यसै कारण आँचल र संस्थाबीच आत्मीय सम्बन्ध गाँसिएको रहेछ। संस्थामा रहेका असहायहरु आँचल–आँचल भन्दै रमाइरहेका थिए। पहिलो पटक गएका पल भने आफ्नो परिचय दिन र असहायहरुका क्रियाकलाप नियाल्दै थिए। 

पल र आँचल विभिन्न व्यक्तिले उक्त संस्थालाई पठाएको पैसा हस्तान्तरण गर्न गएका थिए। यही सन्दर्भ उनीहरुको व्यक्तिगत र पेशागत विचार नजिकबाट बुझ्ने अवसर बनेको थियो।  

पल र आँचल युवा पुस्ताका दर्शकमाझ लोकप्रिय छन्। स्क्रिनमा मात्र नभई वास्तविक जीवनमै उनीहरुको जोडी बनेको हेर्न चाहनेहरु उत्तिकै छन्। तर, यो विषयबाट उनीहरु टाढै बस्न रुचाउने रहेछन्। 

मिडियामा आउने गसिप र सम्बन्धबारेका प्रश्नले गलेको यो जोडी फिल्म ‘शत्रुगते’को रिलिजपछि मिडियाबाट अलि टाढै छन्। भन्छन्, ‘हाम्रो प्रगाढ मित्रतालाई धेरैले शंकालु नजरले प्रश्न गर्छन्। त्यही भएर मिडियामा कम आउने चाहना हो।’