ON AIR

ताजा खबर

राजका अभिभावक बने अभिनेता राजेश हमाल

अभिनेता राजेश हमालले कपिलवस्तुमा एक बालकलाई  विद्यालय भर्ना गराएका छन्। बुद्धभूमि नगरपालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनेका हमालले बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा ५ वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गराएका हुन्।

'मेरो पहिल्यैदेखि चाहना थियो। यस पटक नेपाल सरकारको नीतिले ठूलो अवसर जुटायो,' हमालले भने, 'राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटकपटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु।' 

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उनले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्यसामग्री पनि दिए। बालकको लालनपोषणका लागि केही रकमसमेत उनले सहयोग गरेको राजकी आमा लक्ष्मीले बताइन्।

राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन्। बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन्। उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन। पतिको मृत्युपछि लक्ष्मी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्दै आएकी छन्।